काठमाडौँ । तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको गृहमन्त्री सुदन गुरुङले बताएका छन् ।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गृहमन्त्री गुरुङले यो पीडा एउटा परिवारको मात्र नभई सम्पूर्ण समाजको भएको उल्लेख गरेका छन् । नागरिक तथा महिलाहरूमा देखिएको आक्रोशलाई सरकारले गम्भीरताका साथ लिएको र पहिलो दिनदेखि नै गृह प्रशासन अनुसन्धानमा सक्रिय रहेको उनले स्पष्ट पारेका छन् । अनुसन्धानमा कुनै पनि त्रुटि नहोस् भन्दै आरोपितहरूलाई तत्काल पक्राउ गरिएको र प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरवाहीबारे पनि छानबिन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन् ।
संविधानको धारा १६ (२) ले मृत्युदण्डसम्बन्धी कानुन बनाउन रोक लगाएको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएकाले आवेगमा आएर मृत्युदण्ड दिन सकिने कानुनी अवस्था नरहेको गृहमन्त्रीले स्पष्ट पारेका छन् । यद्यपि, महिला तथा बालबालिकाविरुद्ध हुने यस्ता अपराधमा कानुनी जटिलता हटाउन कानुनमन्त्री सोबिता गौतमको पहलमा आवश्यक संशोधन मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी भइरहेको उनले बताए ।
जाहेरीका आधारमा थप चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिँदै उनले घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप नगर्न आग्रह गरेका छन् । दोषीलाई सजाय दिलाउनुका साथै छोरीहरू सुरक्षित भएर बाँच्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

