काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठक बीचैमा छोडेर बाहिरिएकी छन् ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार आयोजित उक्त छलफलमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनसँग चर्काचर्की भएपछि उनी आक्रोशित हुँदै निस्किएकी हुन् ।
बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीयका समस्या र भइरहेका कामबारे समीक्षा गर्न डाकिएको बैठकमा मेयर महर्जनले आफूहरूले काम गर्दागर्दै पनि नकारात्मक मुद्दा खेप्नुपरेको र सांसदहरूले कुरा नबुझी दबाब दिने गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
सोही वक्तव्यपछि सांसद तामाङ र मेयर महर्जनबीच भनाभन सुरु भएको थियो । मन्त्री तिमिल्सिनाले स्थिति सम्हाल्ने प्रयास गरे पनि विवाद साम्य नभएपछि सांसद तामाङ बैठक बहिष्कार गर्दै बाहिरिइन् ।

