काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचनामा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति पुनः सुचारु गर्न तीव्र गतिमा काम अघि बढाएको छ ।
बाढीका कारण संरचनाहरू ध्वस्त हुँदा सो क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो । सेवालाई सहज र नियमित बनाउन प्राधिकरणले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्नुका साथै वैकल्पिक उपायहरूसमेत अपनाइरहेको छ । शीघ्र विद्युत् पुनर्बहालीलाई उच्च प्राथमिकता दिँदै प्राधिकरणले उपलब्ध सबै संयन्त्र प्रयोगमा ल्याएको जनाएको छ ।
यसका साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि प्रभावित क्षेत्रमा तत्कालका लागि सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध गराउन संयन्त्र खटाएको छ ।
बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजना गरी कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ । यसमध्ये जलविद्युत् आयोजनाहरूको क्षमता ४०६.१ मेगावाट र प्राधिकरणकै सौर्य आयोजनाको क्षमता २५ मेगावाट रहेको छ ।
प्राधिकरणले क्षति पुगेका संरचनाको विस्तृत मूल्याङ्कन गर्दै यथाशीघ्र विद्युत् सुचारु गर्न प्रयास जारी राखेको छ ।

