काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सङ्गीतकारका रूपमा पहिचान बनाएका हरि लम्सालको निर्देशनमा बनेको पहिलो चलचित्र ‘बा : एक योद्धा’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण टोलीले ट्रेलर बाहिर ल्याएको हो ।
सन्तानको उन्नत भविष्य र खुसीका लागि बुवाले जीवनभर गर्ने त्याग, अनवरत सङ्घर्ष र दिएको बलिदानलाई ट्रेलरमा मुख्य विषयवस्तु बनाइएको छ । हुर्काएर योग्य बनाउने आमाबाबु र जन्मभूमिलाई समेत बिर्सिने पछिल्लो पुस्ताको सामाजिक प्रवृत्तिलाई चलचित्रले उजागर गर्न खोजेको देखिन्छ । आफ्ना सन्तानका लागि घरसमेत बिक्री गर्न तयार हुने बुवा र उनै सन्तानबाट भोग्नुपरेको पीडापछि उत्पन्न हुने पारिवारिक सङ्कटलाई कथाले समेटेको छ । परिवार बिखण्डन भइसकेपछि मुख्य पात्रले लिने कठोर निर्णय र त्यसको परिणतिलाई भने ट्रेलरमा कौतुहलताका साथ सस्पेन्स राखिएको छ ।
आगामी भदौ १९ गते अर्थात् कुशे औंसीको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको यस चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा र पटकथा निर्देशक लम्साल स्वयंले तयार पारेका हुन् । वसन्त लम्साल निर्माता तथा अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई शिवराम श्रेष्ठले छायाङ्कन गरेका हुन् भने कुवेर सिने डिस्ट्रिब्युसनले वितरणको जिम्मा लिएको छ ।

