काठमाडौँ । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास अवस्थित छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने पहाडी भेगमा आंशिक बदली छ । तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहे पनि लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान छ । देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूका साथै सुदूरपश्चिमका तराई र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
रातिको समयमा हिमाली, पहाडी र सुदूरपश्चिम तथा लुम्बिनीका तराई भूभागमा आंशिक बदली रहनेछ । बाँकी तराई भेगमा मौसम सफा रहने भए पनि हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहने विभागले जनाएको छ ।

