काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध ८ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो । चितवनका लागि डेभिड मलानले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७० रनको योगदान दिए । त्यसैगरी कप्तान रवि बोपारा ३२ रन र डान मुस्ले २९ रनमा अविजित रहे भने देव खनाल १२ रनमा स्टम्पिङ आउट भए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले १–१ विकेट हात पारे ।
१५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिन पुग्यो । विराटनगरका लागि इमरान सेखले सर्वाधिक ३९ रन र आन्द्रे रसेलले ३३ रन बनाए । यस्तै लोकेश बमले २६ तथा एन्जेलो म्याथ्युजले १४ रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । विराटनगरलाई सस्तैमा रोक्न चितवनका बलर कमल सिंह ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए भने रिजन ढकालले २ विकेट हासिल गरे ।
एनपीएल अन्तर्गत आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।

