काठमाडौँ । नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको विनाशकारी असर र आसन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा देशको कूटनीतिक तयारीबारे संसदीय समितिमा बहस हुने भएको छ ।
सङ्घीय संसद् सचिवालय (भवन नम्बर २, दोस्रो तला) मा आज दिउँसो १ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा बढ्दो जलवायु सङ्कटले मुलुकमा पुर्याएको क्षति, जलवायु अनुकूलनका लागि गर्नुपर्ने कूटनीतिक पहल तथा रणनीतिबारे गहन छलफल हुने कार्यसूची तय गरिएको छ ।
विषयको गम्भीरतालाई ध्यानमा राख्दै समितिले छलफलका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिहरूलाई समेत बैठकमा उपस्थित हुन पत्राचार गरेको छ ।

