काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजे बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिसकेकाले चालु अधिवेशनको यो अन्तिम बैठक हुन लागेको हो ।
आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने मुख्य कार्यसूची छ । जसअन्तर्गत केही नेपाल ऐन संशोधन गर्ने विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई समितिमा पठाउन पेस गरिनेछ ।
यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रणसम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ प्रस्तुत गर्नेछिन् । साथै, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी छ ।
संसद् सचिवालयका अनुसार बैठकमा सभामा प्रस्तुत हुन नसकेका प्रश्नहरूको मन्त्रीहरूबाट प्राप्त उत्तर टेबुल गरिनेछ भने लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना स्वीकृतिका लागि पेस गरिनेछ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत वाचन गरेर सुनाउनेछन् ।

