बझाङ । सुर्मा गाउँपालिका–२ दोगडीमा पर्ने चैनपुर–दौलिचौर भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको जिप बिहीबार बिहान करिब १० बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनामा परी सुर्मा गाउँपालिका–४ का २७ वर्षीय चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार घाइते दुई जनाको भने पहिचान खुल्न बाँकी छ । उनीहरूलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको छ ।
घटनावारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा खटिएको टोलीले उद्धारका साथै आवश्यक अनुसन्धान अघि बढाएको छ ।

