काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार सम्पन्न कूटनीतिक भेटघाटमा साइप्रसमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली विद्यार्थीको हित रक्षा र दुई देशबीच शैक्षिक सहकार्य विस्तारका विषयमा गहन छलफल भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा शिक्षामन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भएको शिष्टाचार साक्षत्कारमा वैदेशिक शिक्षा प्रणालीलाई थप सहज एवं प्रभावकारी बनाउनेबारे विचार-विमर्श गरियो ।
उक्त अवसरमा साइप्रसका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले व्यहोर्नुपरेका असजिलाहरू हटाउन दुवै पक्षबीच सहजीकरण गर्ने सहमति भएको छ ।
छलफलका क्रममा शिक्षामन्त्री पोखरेलले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्राप्त गर्ने कार्यका साथै विदेशी शिक्षण संस्थाबाट प्राप्त उपाधिको समकक्षता (इक्युभलेन्स) तोक्ने व्यवस्थालाई अझ पारदर्शी र छरितो बनाउन मन्त्रालय प्रयासरत रहेको जानकारी दिए । सो क्रममा राजदूत भ्रीयोनिडेसले दुई मुलुकको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै शैक्षिक आदानप्रदानमा सहकार्य बढाउने तत्परता देखाए ।

