काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा सञ्चालन हुने एकदिवसीय विश्वकपको खेलतालिका अधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
आगामी विश्वकप २०२७ अक्टोबर २ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुनेछ । नामिबियाको राजधानी विन्डहोकमा प्रारम्भिक शृंखलाका खेलहरूसँगै सुरु हुने यो प्रतियोगिताको अन्तिम भिडन्त नोभेम्बर २1 मा हुनेछ । यसपटक १४ टोलीले १२ वटा फरक–फरक मैदानमा कुल ५७ खेल खेल्ने तय भएको छ ।
आईसीसीले यसपटक प्रतियोगिताको ढाँचामा महत्त्वपूर्ण हेरफेर गरेको छ । सन् २०२३ को संस्करणमा १० टोलीले मात्र भाग लिएकोमा यसपटक संख्या बढाएर १४ पुर्याइएको छ । नकआउट चरणभन्दा अघि प्रतियोगितालाई प्रारम्भिक शृंखला, समूह चरण र सुपर–७ गरी तीन भागमा बााडिएको छ ।
सुरुआतमा सबैभन्दा तल्लो वरीयताका तीन टोलीबीच प्रारम्भिक शृंखला खेलाइनेछ, जहाँ टोलीहरूले एकअर्काविरुद्ध एक–एक खेल खेल्नेछन् । यो चरणको विजेताले मात्र मुख्य समूह चरणमा स्थान बनाउनेछ भने बाँकी दुई टोलीको यात्रा सुरुवातमै रोकिनेछ । यसकारण १४ टोलीको सहभागिता रहे तापनि मुख्य समूह चरणमा भने १२ टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । प्रारम्भिक चरणका सम्पूर्ण खेल विन्डहोकमै सञ्चालन गरिनेछन् ।
त्यसपछि ती १२ टोलीलाई ६–६ टोलीको दुई समूहमा विभाजन गरिनेछ । समूह चरणमा कुल ३० खेल हुनेछन्, जहाँ प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग प्रतिष्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष तीन–तीन टोलीसँगै चौथो स्थानमा रहनेमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक टोली गरी कुल सात टोली सुपर–७ मा पुग्नेछन् ।
यस संस्करणको सबैभन्दा रोचक पक्ष नै सुपर–७ चरण हो, जहाँ प्रवेश गरेका सातै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । कुल २१ खेलपछि अंक तालिकाको शीर्ष चारमा रहने टोलीहरू सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा शीर्ष टोलीले चौथो र दोस्रो टोलीले तेस्रो स्थानको टोलीसँग खेल्नेछन् भने ती खेलका विजेताहरू उपाधिका लागि फाइनलमा भिड्नेछन् ।
यो विश्वकप २४ वर्षपछि पुनः अफ्रिकी महाद्वीपमा फर्किन लागेको हो । यसअघि सन् २००३ मा दक्षिण अफ्रिका र जिम्बाब्वेले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । नामिबियाले भने पहिलोपटक पुरुष वरिष्ठ विश्वकप आयोजनाको अवसर पाएको हो । प्रतियोगिताको खेलतालिका आएसँगै अक्टोबर १ देखि नै समर्थकका लागि टिकट दर्ता प्रक्रिया खुला भइसकेको छ ।
प्रतियोगितामा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेसहित भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले स्थान पक्का गरिसकेका छन् । बाँकी चार टोलीको टुङ्गो भने आगामी वर्ष हुने विश्वकप क्वालिफायर प्रतियोगिताबाट लाग्नेछ, जहाँ पूर्व विजेता वेस्ट इन्डिजले पनि प्रतिस्पर्धा गर्दैछ ।

