काठमाडौँ । चलचित्र विकास बोर्डले असोज १८ गते आइतबारसम्मको स्वदेशी चलचित्रको बक्स अफिस आँकडा सार्वजनिक गरेको छ । बोर्डको पछिल्लो प्रतिवेदन अनुसार हलहरूमा प्रदर्शनरत चलचित्रहरूले दर्शकको उल्लेख्य साथ पाइरहेका छन् ।
गत साउन १ गतेदेखि प्रदर्शनमा आएको बहुचर्चित चलचित्र ‘गौथली’ ले घरेलु बक्स अफिसमा ऐतिहासिक कमाइ गर्दै २६ करोड १ लाख ९६ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सिनेमाले ९ लाख ४४ हजार २६३ वटा टिकट बिक्री गर्न सफल भएको छ ।
त्यस्तै, भदौ २६ गतेदेखि एकसाथ हलमा पुगेका दुई चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’ मध्ये पेन्सन पट्टाले ९ करोड १३ लाख १६ हजार रुपैयाँ कमाउँदै ३ लाख २१ हजार ३६२ वटा टिकट बिक्री गरेको छ भने बेहुलीले २ करोड ९९ लाख १३ हजार रुपैयाँ व्यापार गरी १ लाख ६ हजार ४५९ टिकट बेचेको छ ।
यसैगरी भदौ १२ गतेबाट प्रदर्शनमा आएको ‘पार्वती’ ले २ करोड २९ लाख १६ हजार रुपैयाँ संकलन गर्दा ८१ हजार ५९२ दर्शकलाई हलसम्म तानेको छ । असोज २ देखि हलमा लागेको ‘झिंगेदाउ-२’ ले ४७ हजार ९५८ टिकट बिक्री गर्दै १ करोड ४५ लाख ६० हजार रुपैयाँ कमाएको छ ।
असोज ९ गते प्रदर्शनमा आएका नयाँ फिल्महरूमध्ये ‘बा: एक योद्धा’ ले ६५ हजार ५६० टिकट बिक्री गरी १ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ भने सोही दिनदेखि चलेको ‘आचार्य’ ले ५४ हजार १०६ वटा टिकट बेच्दै १ करोड ५६ लाख ६७ हजार रुपैयाँको व्यवसाय गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल तथा आगामी ओस्कार अवार्डका लागि नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको ‘तिनीहरु इलेफेन्ट इन द फग’ ले ३६ हजार २० वटा टिकट बिक्री गर्दै बक्स अफिसबाट १ करोड २७ लाख रुपैयाँ संकलन गरेको छ ।

