काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीहरूको मत गणना कार्य निरन्तर अगाडि बढिरहेको छ ।
१ हजार २२९ मतको गणना सकिँदासम्म उपसभापति र महामन्त्री पदमा प्रतिस्पर्धा रोचक बन्दै गएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
हालसम्मको परिणाम अनुसार खुला उपसभापति पदमा ६४३ मत प्राप्त गर्दै डा. चन्द्रकान्त भण्डारीले अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले ३६२ मत पाएका छन् भने गोविन्द भट्टराईले ३०८ , सुरेन्द्रराज पाण्डेले ३०५ , दीपक गिरीले २४८ , धनराज गुरुङले २२३ र प्रा. डा. चन्द्र मोहन यादवले १२९ मत ल्याएका छन् । त्यसैगरी समावेशी उपसभापतिमा बिनोद कुमार चौधरी ३५७ मतका साथ अगाडि छन् । उनका पछाडि जीवन परियारले ३०० , फरमुल्लाह मंसुरले १७७ , सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गरेका छन् ।
महामन्त्रीतर्फ खुला पदमा प्रदीप पौडेल ७२३ मतका साथ फराकिलो अग्रता बनाउन सफल भएका छन् । दोस्रो स्थानमा अमरसिंह पुन मगरले ४५५ मत प्राप्त गर्दा उदयशमशेर राणाले ४१२ , डा. सुनिलकुमार शर्माले ३०९ , गुरुराज घिमिरेले १७८ , नैनसिंह महरले १३५ , शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत ल्याएका छन् ।
महिला महामन्त्री पदमा भने कडा प्रतिस्पर्धा देखिएको छ, जहाँ डा. डिला संग्रौला (पन्त) ले ५३६ मत ल्याएर अग्रता लिँदा महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ र रीता खनालले १४७ मत प्राप्त गरेका छन् । अन्य पद तथा केन्द्रीय सदस्यहरूको मतगणना पनि क्रमबद्ध रूपमा अघि बढाउने तयारी भइरहेको छ ।

