काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । घटस्थापनादेखि यता दुई लाख ६२ हजारभन्दा बढी यात्रुले उपत्यका छाडिसकेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत कुल २ लाख ६२ हजार ७५३ जना यात्रु बाहिरिएका छन् । बाहिरिनेमा १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका लागि काठमाडौँमा रहँदै आएका सर्वसाधारण जन्मथलो फर्किन थालेपछि नयाँ तथा पुराना बसपार्क र मुख्य नाकाहरूमा यात्रुको बाक्लो उपस्थिति देखिएको छ ।
उपत्यकाका नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट बाहिरिने सवारीको चाप उच्च छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा परिचालन गरिएको बताए । उनका अनुसार नेपाल प्रहरी र यातायात व्यवसायीको संयुक्त पहलमा सडक तथा नाकाहरूमा कडा निगरानी र जाँचको व्यवस्था मिलाइएको छ ।
उता यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा-नौबिसे, मुग्लिन-नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडक खण्डमा दुवैतर्फबाट यातायात सञ्चालन भइरहेको छ । लामो दूरीको यात्रा गर्दा सवारीको प्राविधिक अवस्था र चालकको सजगतामा विशेष ध्यान दिन पनि प्रहरीले आग्रह गरेको छ ।

