काठमाडौँ । फ्लाईदुबईको विमानमा ठूलो दुर्घटना गराउन खोजिएको प्रयासलाई एक भारतीय क्याप्टेनले ज्यानको बाजी थापेर असफल पारिदिएका छन् ।
दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको विमानका सहचालकले नै ककपिट कब्जा गरी प्रणाली ध्वस्त पार्ने प्रयास गरेपछि क्याप्टेन स्मित मच्छारले प्रतिकार गरेका हुन् । सहचालकको चक्कु प्रहारबाट गम्भीर घाइते भएका मच्छारले असीम साहस देखाउँदै ककपिटको ढोका खोलेपछि अन्य पाइलट र यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए ।
उक्त विमानमा १५० इजरायली नागरिकसहित १७४ जना यात्रु सवार थिए । घाइते क्याप्टेन मच्छारको हाल साउदी अरबको ताबुकस्थित अस्पतालमा उपचार भइरहेको छ । उनको यो असाधारण बहादुरी र सुझबुझको प्रशंसा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतका नेताहरूले उनलाई ‘सच्चा नायक’ भनेका छन् ।
इजरायलका उपमन्त्री अल्मोग कोहेनले बेन गुरियन विमानस्थलको एउटा विश्राम कक्षको नाम क्याप्टेन मच्छारको नाममा राख्ने प्रस्ताव गर्नेसमेत घोषणा गरेका छन् ।

