काठमाडौँ । नवरात्रको चौथो दिन आज देशभरीका दसैँघर तथा पूजाकोठाहरूमा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिँदै छ ।
आश्विन शुक्ल चतुर्थीका दिन वैदिक परम्परा अनुसार आराधना गरिने यी देवीको पूजाअर्चनाले आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै प्रकारका ताप र कष्टबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।
नवरात्रको पहिलो दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसपछि क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना सम्पादन भइसकेको छ । चौथो दिन आज अष्टभुजा धारण गरेकी कुष्माण्डा देवीको आह्वान गरी विशेष पूजा गरिँदै छ । पौराणिक ग्रन्थहरूका अनुसार कुष्माण्डा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने गर्छिन् । आफ्नो मन्द मुस्कानद्वारा ब्रह्माण्डको सृष्टि गरेकी यी देवीको पूजा गर्नाले आयु, यश, बल र आरोग्य वृद्धि हुने शास्त्रीय मान्यता छ ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएका स्थलहरूमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवीस्तोत्रहरूको पाठपारायण गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ कुनै जात वा धर्म विशेषमा सीमित नभई समस्त मानव जातिकै कल्याणका लागि मनाइने पर्व मानिन्छ ।
महानवमीसम्म हरेक दिन दुई वर्षभन्दा माथिका कन्याको पूजा गर्ने परम्परा अनुसार आज पनि शक्तिपीठ तथा पूजास्थलहरूमा विशेष रूपमा कन्यापूजा गरिँदै छ ।

