काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् प्रगतिको कामना गरेका छन् ।
शुभकामना सन्देशमार्फत उनले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई जोड्दै दसैँले पारिवारिक भेटघाट, सामाजिक सद्भाव, क्षमाशीलता र भाइचारालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् । विभिन्न भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई यस पर्वले थप बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।
यस्तै, भोटेकोशीमा आएको बाढीका कारण पुगेको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै उनले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकमा परेका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । बाढीपीडितको पुनरुत्थान र पुनस्र्थापनाका लागि सबै पक्षलाई एकजुट भएर लाग्न पनि उनले आग्रह गरेका छन् । बडादसैँले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक सोच भर्दै देशको हितका लागि काम गर्ने शक्ति प्रदान गर्ने आशा राष्ट्रपतिले व्यक्त गरेका छन् ।

