काठमाडौँ । बालबालिका तथा किशोरकिशोरीमा द्रुत गतिमा फैलिरहेको मोटोपना नियन्त्रण गर्न औषधि वा शल्यक्रियाको साटो स्वस्थ खानपान, नियमित व्यायाम र व्यवहार परिवर्तनलाई मुख्य प्राथमिकता दिन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आह्वान गरेको छ ।
डब्ल्यूएचओले पहिलोपटक जारी गरेको विश्वव्यापी निर्देशिकामा २९ दिनदेखि १९ वर्षसम्मका बालबालिका र किशोरकिशोरीको तौल व्यवस्थापनका लागि स्पष्ट मार्गनिर्देशन तय गरिएको छ ।
निर्देशिका अनुसार ९ वर्षसम्मका बालबालिकाका लागि कुनै पनि प्रकारका औषधि, शल्यक्रिया वा तौल घटाउने उपकरण प्रयोग गर्न पाइने छैन । यो उमेर समूहमा खानपानमा सुधार, खेलकुद तथा शारीरिक सक्रियता, पर्याप्त निद्रा र स्क्रिन समय घटाउने जस्ता उपाय अपनाउन जोड दिइएको छ । १० देखि १९ वर्षका किशोरकिशोरीको हकमा भने जीवनशैली परिवर्तनका प्रयासहरू असफल भएमा र गम्भीर अवस्था आएमा मात्र चिकित्सकको कडा निगरानीमा औषधि वा शल्यक्रियाको विकल्प सोच्न सकिने बताइएको छ ।
अक्टोबर २०२४ सम्मको तथ्यांक अनुसार विश्वभर ५ देखि १९ वर्षका करिब ४० करोड बालबालिका तथा किशोरकिशोरी बढी तौलका छन्, जसमध्ये १७ करोड मोटोपनाको शिकार भइसकेका छन् ।
सन् १९९० मा २ प्रतिशत रहेको यो दर बढेर अहिले ८ प्रतिशत पुगेको छ । मोटोपनाको असर शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि पर्ने भएकाले बालबालिकामाथि हुने विभेद र हेला रोक्न अभिभावक, विद्यालय र सरकार सबैको समन्वित प्रयास आवश्यक रहेको डब्ल्यूएचओले औँल्याएको छ ।

