काठमाडौँ । दशैँ मनाउन गाउँघर गएका मानिसहरू काठमाडौँ उपत्यका फर्कने क्रम ह्वात्तै बढेको छ । विजयादशमीको भोलिपल्टदेखि सुरु भएको यो क्रम आज थप बाक्लो बनेको छ ।
विगत ३१ गते शनिबारदेखि सुरु भएको सार्वजनिक बिदा आज सकिँदै छ । भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य निजी क्षेत्रका कार्यालयहरू नियमित रूपमा सञ्चालनमा आउने भएकाले सर्वसाधारण आजैसम्म काठमाडौँ आइपुग्ने हतारोमा छन् ।
यात्रुहरूको चाप बढेसँगै काठमाडौँका मुख्य प्रवेश नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु र भक्तपुरको जगातीमा सवारी साधनको बाक्लो उपस्थिति र जाम देखिएको छ । विशेष गरी लामो दूरीका सार्वजनिक बस, माइक्रोबस र निजी सवारी साधनमार्फत उपत्यका भित्रिनेको सङ्ख्या धेरै छ ।
नाकाहरूमा सवारीको चाप व्यवस्थापन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अतिरिक्त जनशक्ति खटाएको जनाएको छ । यद्यपि, लामो यात्रा गरेर फर्किने कतिपय यात्रुहरूले सडक जाम र यातायात व्यवसायीहरूले मनपरी भाडा असुलेको गुनासो गरेका छन् ।
यस विषयमा ट्राफिक प्रहरी र यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा सम्बन्धित सवारी साधनलाई कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन् । यस वर्षको दशैँमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत करिब ८ देखि १० लाख यात्रु बाहिरिएको अनुमान गरिएको छ ।
