काठमाडौँ । आश्विन शुक्ल नवमी अर्थात् महानवमीका अवसरमा आज देशैभर नवदुर्गा भगवतीको विशेष पूजा–आराधना गरिँदैछ ।
यसै दिन घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठहरूमा चढाउने परम्परा रहेको छ भने वर्षमा एकपटक मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर आज दर्शनार्थीका लागि खुला गरिएको छ । तलेजु भवानीलाई फूलपातीकै दिन मूलचोकमा ल्याइएको थियो भने विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइनेछ ।
यसअघि महाअष्टमीको राति राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पसहित तान्त्रिक विधिद्वारा मूलचोकमै कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

