काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्न विशेष मापदण्डसहित तीन चरणको प्रक्रिया सार्वजनिक गरेको छ ।
पार्टीले जारी गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार योग्यता, नेतृत्व क्षमता र पारदर्शी मूल्याङ्कनलाई मुख्य आधार बनाइएको छ । उम्मेदवार बन्न चाहने आकाङ्क्षीले उम्मेदवार क्लबमा आवेदन दिनुका साथै लिडरसिप एकेडेमीको प्रशिक्षण र विभिन्न मूल्याङ्कन परीक्षण पार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
रास्वपाबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिन २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने र सम्बन्धित वडाकै मतदाता नामावलीमा नाम समावेश हुनुपर्नेछ । साथै, उम्मेदवारले पार्टीको सक्रिय सदस्यता लिनुका साथै अन्य राजनीतिक दलको आबद्धता त्यागेको हुनुपर्ने शर्ट राखिएको छ । उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यता, सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र, आर्थिक कारोबार तथा कुनै कानुनी विवाद भए सोको विवरण बुझाउनुपर्नेछ । घरेलु हिंसा, यौन दुर्व्यवहार र डिजिटल दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।
छनोट प्रक्रियाको पहिलो चरणमा उम्मेदवार क्लबमार्फत व्यक्तिगत पृष्ठभूमि र योग्यताको परीक्षण गरिनेछ । दोस्रो चरणमा लिडरसिप एकेडेमीमार्फत स्थानीय शासन, सुशासन र नागरिक सेवा प्रवाहबारे प्रशिक्षण दिइनेछ भने तेस्रो चरणमा सार्वजनिक आचरण, नेतृत्व क्षमता र जनविश्वासका आधारमा अन्तिम मूल्याङ्कन गरिनेछ । यस प्रक्रियामा प्रारम्भिक निर्वाचनको मतभार र एकेडेमीको अङ्कलाई समेटेर समावेशिताका आधारमा आधिकारिक उम्मेदवारको टुङ्गो लगाइने पार्टीले जनाएको छ ।

