काठमाडौँ । महिलाहरूमा तीव्र रूपमा फैलिरहेको स्तन क्यान्सरबारे व्यापक सचेतना जगाउन आज अक्टोबर १९ का दिन विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । स्तन स्वास्थ्यप्रति सतर्कता बढाउने उद्देश्यले अक्टोबर महिनाभर नै अन्तर्राष्ट्रिय स्तरमा सचेतना अभियान चलाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले यस वर्ष ‘हरेक कथा फरक छ, हरेक यात्रा महत्त्वपूर्ण छ’ भन्ने नाराका साथ यो दिवस मनाउन आह्वान गरेको छ । यस सन्देशले प्रत्येक क्यान्सर बिरामीको पहिचान, उपचार प्रक्रिया र व्यक्तिगत अनुभव विशिष्ठ हुने तथ्यलाई अगाडि सारेको छ ।
हाल स्तन क्यान्सर महिलाहरूमा देखिने सबैभन्दा प्रमुख क्यान्सर बनिसकेको छ । सन् २०२४ को तथ्याङ्क अनुसार विश्वभर करिब २४ लाख महिलामा यो रोग पुष्टि भएको थियो भने सोही वर्ष ६ लाख ९४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । यस्तै, सन् २०२४ को अन्त्यसम्म ८२ लाख महिला यस रोगसँग जुधिरहेका थिए ।
किशोरावस्था पछि जुनसुकै उमेर समूहका महिलालाई पनि स्तन क्यान्सर हुन सक्छ र उमेर ढल्किँदै जाँदा यसको जोखिम झनै उच्च रहन्छ । अचम्मको कुरा त के छ भने, करिब ८० प्रतिशत बिरामीमा महिला हुनु र उमेर बढ्नुबाहेक अन्य कुनै ठोस कारण नै नदेखिई यो रोग पुष्टि हुने गरेको छ । आधुनिक उपचार पद्धतिमा सुधार आए तापनि समयमै परीक्षण र गुणस्तरीय सेवामा सबैको समान पहुँच नहुँदा विभिन्न देशहरूमा बिरामीको बाँच्ने दरमा ठूलो अन्तर छ ।
यसै असमानतालाई हटाउन र क्यान्सरबाट हुने मृत्युदर घटाउन विश्व स्वास्थ्य सङ्गठनले विशेष पहल सुरु गरेको छ । यस अन्तर्गत कम्तीमा ६० प्रतिशत क्यान्सर प्रारम्भिक (पहिलो वा दोस्रो) चरणमै पत्ता लगाउने, शङ्कास्पद लक्षण देखिएको ६० दिनभित्र पूर्ण निदान गरिसक्ने र ८० प्रतिशत बिरामीलाई सिफारिस बमोजिमको पूर्ण उपचार पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।
अक्टोबर १ देखि सुरु भएको यस सचेतना महिना अन्तर्गत अक्टोबर १३ मा दोस्रो चरणको स्तन क्यान्सर सचेतना दिवस र अक्टोबर १५ मा स्तन स्वास्थ्य दिवस मनाइसकिएको छ । आज अक्टोबर १९ मा विश्व दिवस मनाइँदै गर्दा अक्टोबर २३ मा भने ‘गुलाबी पहिरन दिवस’ (पिङ्क् डे) मनाइने कार्यक्रम छ । रोगको समयमै पहिचान, द्रुत निदान र प्रभावकारी उपचारको व्यवस्था गर्न सके स्तन क्यान्सरबाट हुने क्षतिलाई धेरै हदसम्म घटाउन सकिन्छ ।

