काठमाडौँ । अमेरिकाको वासिङ्टन डीसीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालको पुनर्निर्माण, आर्थिक सुधार र सामाजिक संरक्षणका विविध पक्षमा गहन छलफल गर्नुभयो ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याउनुभयो । यसका साथै बृहत् आर्थिक सुधार, बीमा प्रणाली र सामाजिक सुरक्षाका क्षेत्रमा गरी करिब एक अर्ब अमेरिकी डलर बराबरको वित्तीय स्रोत परिचालनका विषयमा दुई पक्षबीच विस्तृत कुराकानी भएको छ ।
विश्व बैंकका अध्यक्ष अजय बाङ्गाले बाढीबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा ठोस सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । वर्तमान सरकारले सुरु गरेका नीतिगत र संस्थागत सुधारका प्रयासको प्रशंसा गर्दै उहाँले पूर्वाधार विकास र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (ADB) र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) जस्ता विकास साझेदारहरूसँग मिलेर नेपालका प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी बढाउन विश्व बैंकले नयाँ पहल थाल्ने जानकारी दिनुभयो । विगत तीन दशकपछि विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच यसरी प्रत्यक्ष द्विपक्षीय भेटघाट भएको हो ।

