काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर महिनामा काठमाडौँमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाएको छ ।
क्यान्का सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार आगामी डिसेम्बर ४ देखि २१ सम्म हुने उक्त प्रतियोगितामा विश्वकप लिग २ का पुछारका चार टोली र च्यालेन्ज लिग ए तथा बीका शीर्ष दुई-दुई टोली गरी कुल आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा शीर्ष चार स्थानमा पर्न सफल टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा हुने ५० ओभरको विश्वकप छनोटमा प्रवेश पाउन सक्नेछन् ।
यसैबीच, क्यानले सोही समयमा घरेलु मैदानमा हुनुपर्ने नेपाल र भारत ‘ए’ बीचको खेल शृंखलाको मिति भने परिवर्तन हुने जानकारी गराएको छ । नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि यसअघि डिसेम्बर ९, ११ र १३ का लागि तय भएको भारत ‘ए’ सँगको खेलको नयाँ तालिका बीसीसीआई र क्यानको समन्वयमा पछि सार्वजनिक गरिनेछ ।

