काठमाडौँ । वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखा परेकाले नेपाल राष्ट्र बैंकले आफ्ना अनलाइन सेवा तथा वेबसाइट अस्थायी रूपमा रोकेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सेवा बन्द गरिएको जानकारी राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै गराएको हो । सेवा अवरुद्ध भएको समयमा आवश्यक पर्ने महत्त्वपूर्ण सूचना तथा जानकारीहरू बैंकका आधिकारिक सामाजिक सञ्जालहरूबाट प्राप्त गर्न सकिनेछ ।
यसका साथै पीएचपी प्रणालीमा देखिएको यो सुरक्षा खतराबारे सचेत रहन राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र रेमिट्यान्स कम्पनीहरूलाई आग्रह गरेको छ । आफ्ना सर्भर तथा प्रणालीहरूको सुरक्षा मजबुत बनाउन र नियमित निगरानी बढाउन पनि राष्ट्र बैंकले ती संस्थाहरूलाई निर्देशन दिएको छ ।

