काठमाडौँ । फ्रान्समा युवा आन्दोलन चर्किएपछि स्थिति नियन्त्रणमा लिन अधिकारीहरूले राजधानी पेरिसका मुख्य भागहरूका साथै देशका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरेका छन् ।
पेरिस प्रहरीका अनुसार केही दिनदेखि प्रदर्शनकारीहरूको बाक्लो उपस्थिति रहँदै आएको प्लेस डे ला रिपब्लिक र ल’अल्ली किनमेल क्षेत्रहरूमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुनेछ । सहरका अन्य मध्य भागहरूमा पनि अनुमतिविना मानिसहरू भेला हुन रोक लगाइएको छ ।
दक्षिणी फ्रान्सका प्रमुख सहरहरू मार्सेली, बोर्डो, नाइस र लियोनका साथै उत्तरी सहर लिल लगायतका स्थानमा आंशिक कर्फ्यु लागू गरिएको छ । यसअघि गृहमन्त्री लरेन्ट नुनेजले केही सहरहरू प्रहरीको नियन्त्रणभन्दा बाहिर गइसकेको कुरा स्वीकार गरेका थिए ।
गत महिना विद्यालयको अवस्था सुधारको माग राख्दै विद्यार्थीहरूले सुरु गरेको सानो आन्दोलनले अहिले व्यापक रूप लिएको छ । हाल प्रदर्शनकारीहरूले बढ्दो महँगीका साथै अन्य राष्ट्रिय मुद्दाहरू पनि उठाउन थालेका छन् ।
प्रशासनका अनुसार आन्दोलनका क्रममा अहिलेसम्म २,५०० भन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको छ । यस्तै, अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार स्थिति साम्य पार्ने क्रममा कम्तीमा १,००० प्रहरी अधिकारीहरूसमेत घाइते भएका छन् ।

