काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति व्यहोरेका रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ पीडित परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँको दरले नगद राहत रकम हस्तान्तरण गरेको छ ।
विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको यो रकम स्थानीय निकायहरूसँगको सहकार्यमा एकद्वार प्रणाली अपनाएर प्रभावितहरूसम्म पुर्याइएको हो । यस प्रक्रिया अन्तर्गत रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी कुल ११ वटा स्थानीय तहका प्रभावित नागरिकले सहयोग प्राप्त गरेका छन् ।
यस्तै, तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका अन्य करिब १ हजार ४०० परिवारलाई आगामी तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने योजना अनुसार सरकारले तयारी तीव्र पारेको छ ।
यसअघि असोज २३ गते बसेको केन्द्रीय तथा तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले बाढीपीडितको पहिचान, तथ्याङ्क प्रमाणीकरण र तत्काल पुनर्लाभ प्रक्रियालाई व्यवस्थित बनाउने निर्णय गरेको थियो ।
रेडक्रसलगायत अन्य साझेदार संस्थाहरूले पनि सहयोग गर्न इच्छा देखाएकाले राहत पाउने परिवार नदोहोरिऊन् र कोही पनि छुट्न नपुगून् भन्ने सुनिश्चित गर्न सरकारले स्थानीय तहलाई स्पष्ट निर्देशन दिएको छ । यसका साथै बाढीबाट प्रभावित भएकाहरूलाई दीर्घकालीन रूपमा पुनर्स्थापना गर्नका लागि आवश्यक काम अघि बढाइसकिएको जानकारी दिइएको छ ।

