काठमाडौँ । बडादसैँको आठौँ दिन आज घरघरमा तथा विभिन्न शक्तिपीठहरूमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरी महाअष्टमी पर्व श्रद्धापूर्वक मनाइँदै छ ।
दुर्गा भवानीलाई विशेष शक्ति प्राप्त हुने धार्मिक विश्वासका कारण वैदिक सनातन परम्परामा यस दिनलाई विशेष महत्त्वका साथ हेरिन्छ।
आजका दिन दसैँघर, कोत र देशभरका प्रसिद्ध देवी मन्दिरहरूमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्दै महापूजा गर्ने गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार शास्त्रमा सात्विक, राजस र तामस गरी तीन प्रकारका पूजा पद्धतिको उल्लेख छ, जसमध्ये पशु बलिसहित गरिने पूजालाई राजस र मदिरासमेत चढाइने पूजालाई तामस मानिन्छ । ब्राह्मणहरूका लागि भने पशु बलि तथा कालरात्रि पूजा वर्जित गरिएको छ ।
महाअष्टमीको अवसरमा काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, दक्षिणकालीलगायतका पीठहरूका साथै उपत्यकाबाहिरका मनकामना, छिन्नमस्ता, पाथीभरा, पलाञ्चोक भगवती जस्ता देशभरका शक्तिपीठहरूमा भक्तजनको बाक्लो उपस्थिति रहने गर्छ ।
आजैका दिन सवारी साधन, कलपुर्जा र हातहतियारलाई देवीको अस्त्रका रूपमा पूजा गर्ने परम्परा छ भने पशु बलि नदिनेहरूले काँक्रो, कुभिण्डो, घिरौँला, मूला र नरिवलको बलि दिएर पूजाआजा गर्छन् । आजै राति तान्त्रिक विधिबाट कालरात्रिको पूजासमेत सम्पन्न गरिन्छ ।

