सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित मध्यपहाडी लोकमार्गबाट जिप सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे सडकबाट करिब २०० मिटर तल नदीमा खसेको हो ।
दुर्घटनामा परेर चार जना घाइते भएका छन् भने तीन जना नदीमा बेपत्ता भएका छन् । घाइते हुनेहरूमा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङ दिक्तेलका ३८ वर्षीया सम्झना राई, १२ वर्षीया सिवानी राई र १३ वर्षीय अंकित विक रहेका छन् ।
घाइतेहरूलाई घुर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ । बेपत्ता भएकाहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

