काठमाडौँ । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमणका क्रममा सेठले राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देल लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता तथा छलफल गर्नेछन् । नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने ऐतिहासिक परम्परा रहँदै आएको छ ।
यसअघि नेपालका प्रधानसेनापति अशोकराज सिग्देलले सन् २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।

