धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले यस क्षेत्रको मौलिक कला , संस्कृति र परम्परालाई विश्वभर चिनाउनुपर्ने बताएका छन् ।
धनगढीमा आयोजित ‘सुदूर संस्कृति उत्सव’ लाई सम्बोधन गर्दै उनले कला र संस्कृतिको धनी सुदूरपश्चिमको मौलिकता जोगाउन संरक्षणका कामलाई तीव्रता दिनुपर्ने उल्लेख गरे ।
प्राकृतिक , धार्मिक तथा सांस्कृतिक सम्भावनाको उचित प्रयोग गरेर नै यस क्षेत्रको समृद्धि हासिल गर्न सकिने धारणा प्रदेश प्रमुख मियाँले व्यक्त गरे । साथै , सुदूरपश्चिमको इतिहास र मौलिकतासँग नयाँ पुस्तालाई जोड्नका लागि विद्यालय तहदेखि नै चेतनामूलक कार्यक्रम चलाउनुपर्नेमा उनले जोड दिए ।
समारोहमा सिसिएसका अध्यक्ष हरि रेग्मीले समाज रूपान्तरण र सांस्कृतिक पहिचानको जगेर्नाका लागि सबै क्षेत्र मिलेर लाग्नुपर्ने बताए । उत्सवमा स्थानीय देउडा , गौरा लगायतका सांस्कृतिक झाँकी , मौलिक परिकारका स्टल र परम्परागत बाजागाजा प्रदर्शन गरिएका थिए ।

