काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
दिउँसो खुलामञ्चमा आयोजना गरिने विशेष समारोहका बीच महाधिवेशनको उद्घाटन गर्ने कार्यतालिका छ । आगामी असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने २१ र २२ गते राष्ट्रिय सभागृह तथा प्रज्ञा भवनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार देशभरि र विदेशस्थित जनसम्पर्क समितिहरूबाट गरी ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू महाधिवेशनमा भाग लिन राजधानी आइपुगेका छन् । प्रतिनिधिहरूका लागि सानेपास्थित केन्द्रीय कार्यालयमा प्रदेशगत रूपमा नाम दर्ताको व्यवस्था मिलाइएको छ । प्रतिप्रतिनिधि ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ, जसबापत उनीहरूलाई विधान, कापी, कलम लगायतका सामग्रीसहितको झोला उपलब्ध गराइएको छ । महाधिवेशन प्रतिनिधिहरूलाई भृकुटीमण्डपमा भोजनको व्यवस्था गरिएको भए पनि बस्ने प्रबन्ध भने स्वयंले नै गर्नुपर्ने आवास व्यवस्थापन उपसमितिले जनाएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिए पनि उनी आफ्नै समूहको अलग्गै भेलातर्फ केन्द्रित भएका छन् । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थिति रहनेछ । यस्तै सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा समेत काठमाडौँ आइपुगेकी छन् ।
देशका विभिन्न भागमा हालै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण सिर्जित संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै यसपटक भड्किलो प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ । निर्वाचन समितिले भौतिक रूपमा फ्लेक्स, ब्यानर, पोस्टर वा पम्प्लेट टाँस्न नपाइने र उम्मेदवारहरूले केवल डिजिटल तथा सामाजिक सञ्जालमार्फत मात्र प्रचार गर्न पाउने आचारसंहिता लागू गरेको छ ।
यस महाधिवेशनमार्फत कांग्रेसले आफ्नो सांगठनिक ढाँचामा ठूलो हेरफेर गर्दै छ । हाल १६४ सदस्यीय रहेको केन्द्रीय कार्यसमितिलाई विस्तार गरेर २३८ सदस्यीय बनाउन लागिएको छ । पदाधिकारी संख्या १७ पुर्याइएको छ भने सभापतिलाई ६१ जना केन्द्रीय सदस्य र ३ सहमहामन्त्री मनोनयन गर्ने अधिकार दिइएको छ । साथै, ३५ वर्षमुनिका २१ जना युवालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन विशेष आरक्षणको व्यवस्था गरिएको छ ।

