काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदी थुनिएपछि आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ ।
नदीको माथिल्लो भेगमा खसेको सुक्खा पहिरोले केही समय बहाव रोकेपछि एक्कासि फुटेर आएको बाढीले आसपासका बस्ती, होटल तथा विद्यालयहरू प्रभावित भएका छन् ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार नदीमा अझै पनि पानी थुनिने र खुल्ने क्रम जारी रहेकाले बाढीको जोखिम टरेको छैन । बाढीको तीव्र बहावले नदी किनारबाट करिब १५० देखि २०० मिटरसम्मका संरचनामा क्षति पुर्याएको छ । विशेषगरी जगत र सल्लेरी क्षेत्रका पर्यटकीय होटल, ट्रेकिङ एजेन्सीका पूर्वाधार र विद्यालय भवनहरू बाढीको चपेटामा परेका छन् ।
घटनामा हालसम्म कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन । नदीको बहाव अनिश्चित रहेकाले क्षतिको वास्तविक विवरण संकलन गर्ने काम भइरहेको छ ।
सम्भावित खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा गाउँपालिकाले बूढीगण्डकी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

