काठमाडौँ । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको छ । क्लबले बिहीबार ३० वर्षीय क्रिकेटरलाई टिममा भित्र्याएको हो ।
लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । तीव्र गतिका बलर तलातले पाकिस्तानका लागि २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई अर्धशतकसहित ४४१ रन बनाएका छन् भने ६३ विकेट लिएका छन् । त्यस्तै, १२ एकदिवसीय खेलमा २२४ रन जोड्नुका साथै ६२ विकेट हात पारेका छन् ।
लिस्ट ‘ए’तर्फ १२५ खेल खेलेका उनले ३ हजार ७५४ रन बनाउनुका साथै १४१ विकेट लिएका छन् । तलातको आगमनसँगै टिमको ब्याटिङ र बलिङ दुवै पक्ष मजबुत बनेको कर्णाली याक्स स्पोट्स् प्रालिका मालिक गृहेन्द्र घिमिरेले बताए । घिमिरेका अनुसार टोलीले आगामी दिनमा थप दुई चर्चित क्रिकेटरलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।
“पाकिस्तानी अलराउन्डरको आगमनसँगै टिमको ब्याटिङ र बलिङ दुवै पक्ष बलियो हुने विश्वास लिएका छौँ,” घिमिरेले भने, “आगामी दुई सम्झौतालाई पनि दर्शकले मन पराउनुहुनेछ भन्ने लाग्छ । कर्णाली याक्समा चर्चित अनुहार देख्न पाउनुहुनेछ ।”
तेस्रो सिजनका लागि कर्णाली याक्समा भित्रिने तलात चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीका साथै दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई अनुबन्ध गरिसकेको छ । मार्क वाटबाहेक तलात, अरिफुल र अकबर तीनै जनाले पहिलो पटक एनपीएल खेल्न लागेका हुन् ।
कात्तिक ९ गतेदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलका लागि कर्णालीको मार्की खेलाडीमा सोमपाल कामी रहेका छन् । टोलीमा राष्ट्रिय टिमका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि समावेश छन् ।
यस्तै, कर्णालीले कर्णाली प्रदेशका विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतका साथै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरिसकेको छ ।

