काठमाडौँ । सर्वोच्च अदालतमा दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आज निर्धारित बहस प्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण स्थगित भएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै पक्षको बहस सुन्ने कार्यक्रम तय गरिएको थियो । प्रहरी महानिरीक्षक केसी छलफलमा उपस्थित नभएपछि सुनुवाइ अघि बढ्न नसकेको हो ।
प्रहरी महानिरीक्षक केसी अनुपस्थित रहेपछि इजलासले उनलाई म्याद तामेल गरी मङ्सिर ९ गतेका लागि नयाँ पेशी तोक्न आदेश दिएको छ ।
यसअघि मङ्सिर ३ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । उक्त आदेशमा कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि तथा अन्य सम्बन्धित कागजात पेस गर्न भनिएको थियो । साथै, सर्वोच्च अदालतले सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो ।
कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको पदबाट हटाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

