काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो विकास र आन्तरिक पुनर्संरचनाका कारण प्रविधि क्षेत्रको अग्रणी अमेरिकी कम्पनी ओरेकलले ठूलो संख्यामा कर्मचारी कटौती गरेको छ ।
सन् २०२६ को मे अन्तिमसम्मको वार्षिक प्रतिवेदनअनुसार कम्पनीले आफ्नो कुल कार्यबलबाट करिब २१ हजार जनशक्ति घटाएको हो । तीव्र रूपमा भइरहेको प्राविधिक परिवर्तनका कारण आगामी दिनमा समेत कर्मचारीको संख्यामा थप गिरावट आउन सक्ने कम्पनीले संकेत गरेको छ ।
सार्वजनिक विवरणअनुसार गत वर्ष एक लाख ६२ हजार कर्मचारी कार्यरत रहेको ओरेकलमा हाल यो संख्या घटेर एक लाख ४१ हजारमा सीमित भएको छ । यो कटौती कम्पनीको कुल कार्यबलको करिब १३ प्रतिशत हो । ओरेकलले आफ्नो व्यावसायिक सञ्चालन प्रक्रियामा एआई प्रविधिलाई प्राथमिकता दिँदा कर्मचारी संख्या घट्न गएको स्वीकार गरे पनि यसको पछाडि व्यवस्थापन सुधार, रणनीतिक पुनर्संरचना, कार्यसम्पादन मूल्याङ्कन र अन्य कम्पनीहरूको अधिग्रहणजस्ता बहुआयामिक कारणहरू रहेको प्रस्ट पारेको छ ।
कम्पनीका अध्यक्ष ल्यारी एलिसनको नेतृत्वमा ओरेकलले परम्परागत डेटाबेस सफ्टवेयर निर्माताको पहिचान बदल्दै एआई र क्लाउड कम्प्युटिङको क्षेत्रमा बजार विस्तार गरिरहेको छ । ओपन एआईजस्ता ठूला ग्राहकका लागि विशाल एआई डेटा केन्द्र निर्माण गर्ने क्रममा कम्पनीले अमेजन र माइक्रोसफ्टजस्ता स्थापित प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ । यद्यपि, प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा कमजोर नगद प्रवाह (क्यास फ्लो) भएका कारण ओरेकलले यस विस्तारका लागि ऋण र अतिरिक्त लगानीमा भर पर्नुपरेको छ । चालु आर्थिक वर्षमा पूँजीगत खर्च ७० अर्ब डलर पुग्ने अनुमान गरिएकोमा ओरेकलले ४० अर्ब डलर अतिरिक्त ऋण र सेयरमार्फत जुटाउने योजना बनाएको छ ।
यस एआई केन्द्रित पुनर्संरचना र कर्मचारी विदाई सुविधा (सेभरेन्स पे) बापत मात्रै कम्पनीले आर्थिक वर्ष २०२६ मा १ अर्ब ८४ करोड डलर खर्च गरेको छ, जुन अघिल्लो वर्ष मात्र ३७ करोड ४० लाख डलर थियो ।

