काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा बीच आकाशमै गम्भीर प्राविधिक गडबडी आएपछि रुपन्देहीको भैरहवामा आकस्मिक अवतरण गरिएको छ ।
आइतबार अपराह्न करिब ४ बजे उडान भरेको केही समयमै विमानको ककपिट भित्र अचानक धुवाँ निस्किएपछि चालक दलले सुरक्षा सावधानी अपनाउँदै विमानलाई भैरहवातर्फ मोडेका थिए ।
पाइलटको सतर्कताका कारण विमानलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा ओराल्न सफल भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेका छन् । ककपिटमा कुन कारणले धुवाँ देखिएको हो भन्नेबारे प्राविधिक टोलीले सूक्ष्म अनुसन्धान र परीक्षण सुरु गरिसकेको छ ।
यसैबीच, भैरहवामा अलपत्र परेका यात्रुहरूलाई उनीहरूको गन्तव्य धनगढीसम्म पुर्याउनका लागि श्री एयरलाइन्सले काठमाडौंबाट अर्को वैकल्पिक विमान पठाइसकेको जानकारी दिएको छ ।

