काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले चिकित्सक र सर्वसाधारणका गुनासा तथा सुझावहरू डिजिटल माध्यमबाटै संकलन गर्न नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
काउन्सिलको सेवालाई समयसापेक्ष, छरितो र पारदर्शी बनाउने उद्देश्यले ‘हेलो एनएमसी’ अभियान सुरु गरिएको हो ।
यस नयाँ व्यवस्थासँगै अब सेवाग्राही तथा चिकित्सकहरूले आफ्ना समस्या, जिज्ञासा वा उजुरी दर्ता गराउन काउन्सिलको कार्यालयमै धाइरहनुपर्ने बाध्यता हटेको छ । काउन्सिलमा आबद्ध दर्तावाला चिकित्सकहरूले doctor.nmc.org.np मा रहेको आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर आफ्ना कुराहरू राख्न सक्नेछन् ।
त्यसैगरी, सर्वसाधारण नागरिकहरूका लागि काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा ‘हेलो एनएमसी’ पोर्टलको व्यवस्था गरिएको छ, जहाँ क्लिक गरेर सजिलै उजुरी वा सुझाव दर्ता गर्न सकिन्छ । यसका अतिरिक्त काउन्सिलले जारी गरेको आधिकारिक क्युआर कोड स्क्यान गरेर वा nmc@nmc.org.np मा इमेलमार्फत पनि आफ्ना कागजात र गुनासो पठाउन सकिने काउन्सिलले जनाएको छ ।


