काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेललाई अनुसन्धानका लागि समय थप गर्न मंगलबार विशेष अदालतमा पेस गरिएको थियो ।
अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई ७ दिन हिरासतमा राख्न विभागलाई अनुमति दिएको हो । एमालेको पार्टीगत कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार अपराह्न त्यहीँबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेलगत्तै उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइएको थियो । विवादास्पद व्यवसायी दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि विभागले उनलाई हिरासतमा लिएको बताइएको छ । यसैबीच, एमालेले भने आफ्ना उपाध्यक्षको पक्राउलाई प्रतिशोधपूर्ण र गैरन्यायिक कदम भन्दै तत्काल रिहाइको माग गरेको छ ।

