काठमाडौँ । ट्राफिक प्रहरीले नियम मिच्ने सवारीचालकसँग जरिवाना काट्दा कुनै पनि खालको अतिरिक्त भत्ता वा कमिसन नपाउने नेपाल प्रहरीले प्रष्ट पारेको छ ।
केही समययता सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिवाना गराएबापत कमिसन पाउने भन्दै भ्रम फैलिएपछि प्रहरीले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले उठाउने सम्पूर्ण जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने जानकारी दिएका छन् । बिनाकुनै प्रमाण र सत्यता जाँच नगरी सम्प्रेषण गरिने यस्ता समाचारले राज्यका जिम्मेवार निकायप्रति नागरिकको भरोसा गुम्ने र प्रशासनिक काम कारबाहीलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रवक्ता काफ्लेले उल्लेख गरे ।
ट्राफिक प्रहरीले जरिवाना गरेबापत अतिरिक्त सुविधा वा भत्ता पाउने कुनै पनि कानुनी व्यवस्था नरहेको कुरालाई विज्ञप्तिमा दृढताका साथ स्पष्ट पारिएको छ । साथै, प्रहरीले कुनै पनि समाचार वा सूचनाहरू प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक निकायबाट तथ्य जाँच गरेर मात्र जिम्मेवार ढंगले प्रस्तुत गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।

