धनगढी । बझाङमा शनिबार एउटा जीप दुर्घटनामा पर्दा तीन जना यात्रुको ज्यान गएको छ ।
केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ गइरहेको जीप दुर्घटना हुँदा अन्य सात जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परेका घाइतेहरूको उद्धार कार्यमा मौसमले अवरोध पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण हुन सकेन ।
अहिले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा निरन्तर खटिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स पठाइएको जानकारी दिनुभयो । उक्त जीपमा जम्मा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

