काठमाडौँ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबारका दिन संसारभर मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
यस वर्षका लागि ‘शान्तिपूर्ण विश्वका लागि सहकारी’ भन्ने मूल नारा तय गरिएको छ । बेलायतका रबर्ट ओवेनले सन् १८४४ मा सुरु गरेको सहकारी अभियानलाई संयुक्त राष्ट्रसंघको साधारणसभाले १६ डिसेम्बर १९९२ मा औपचारिक मान्यता दिँदै यो दिवस मनाउने घोषणा गरेको थियो ।
नेपालको सन्दर्भमा विसं २०१० सालदेखि सहकारीको संस्थागत सोच विकास भएको भए तापनि विसं २०१३ मा बखान सहकारी संस्थाको स्थापना भएपछि मात्र यसले गति लिएको इतिहास छ । यद्यपि, लामो समय बितिसक्दा पनि नेपाली सहकारी क्षेत्रले सोचेअनुरूप गुणात्मक फड्को मार्न सकेको देखिँदैन । सहकारीहरू उत्पादनमूलक र स्वरोजगारका क्षेत्रमा न्यून आकर्षित हुनु, केवल बचत तथा ऋणको कारोबारमा मात्र बढी केन्द्रित हुनु र सदस्यहरूमा सहकारी शिक्षा तथा चेतनाको कमी हुनु यसका मुख्य कारण हुन् ।
नेपालको संविधानले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि सहकारी क्षेत्रलाई एउटा महत्त्वपूर्ण खम्बाका रूपमा आत्मसात् गरेको छ । हाल सहकारी संस्थाहरूको नियमन र सञ्चालन स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भएकाले यिनीहरूलाई व्यवस्थित बनाउन सहकारी ऐनमा समयसापेक्ष परिमार्जन गर्न आवश्यक भइसकेको छ ।
मुलुकको अर्थतन्त्रमा सहकारीको ठूलो हिस्सेदारी रहे तापनि संघीय, प्रदेश र स्थानीय सरकारहरूले यस क्षेत्रका सवालहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अझै पूर्ण स्पष्टता आइसकेको छैन । तसर्थ, सहकारी अभियानलाई थप सक्रिय र जनजीविकामुखी बनाउन स्थानीय सरकारले यसको व्यवस्थापन र समाज रूपान्तरणको लक्ष्यलाई विशेष प्राथमिकता दिनु जरुरी देखिन्छ ।

