काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले देशको न्याय प्रणालीमाथि गम्भीर असन्तुष्टि जनाउँदै न्यायालयको पुनर्संरचना गर्नुपर्ने माग राख्नुभएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएलगत्तै सांसद न्यौपानेको यस्तो टिप्पणी आएको हो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले वर्तमान न्यायालयको अवस्थाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने दाबी गर्नुभयो ।
हालैका केही घटनाक्रमले सर्वसाधारण नागरिकले न्याय पाउने आशा कमजोर बन्दै गएको उहाँको भनाइ छ । सांसद न्यौपानेले न्यायालयको भूमिकाबारे अब निर्मम समीक्षा गर्न ढिलाइ गर्न नहुने र राज्यका सबै निकाय परिवर्तन हुन जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

