काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवार र सरकार पक्षबीच सहमति जुटाउन लगातार छलफल चलिरहेको छ ।
महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि सिर्जना भएको तनावका कारण सो घटना भएको भन्दै पीडित पक्षले राज्यले जिम्मेवारी लिनुपर्ने अडान राखेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा हिजो राति अबेरसम्म दुवै पक्षबीच संवाद भए पनि निष्कर्ष निस्कन सकेन । दोषीमाथि कानुनी कारबाही, निष्पक्ष अनुसन्धान र सरकारका तर्फबाट स्पष्ट प्रतिबद्धता नआएसम्म शव नबुझ्ने अडान परिवारले कायम राखेको छ ।
परिवारले शव बुझ्न अस्वीकार गरेपछि हालसम्म पोस्टमार्टम प्रक्रिया सुरु हुन सकेको छैन । वीर अस्पतालमा शव सुरक्षित राख्ने उपकरण अभाव भएपछि मृतकको पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा स्थानान्तरण गरिएको छ । यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
नगर प्रहरीको व्यवहार, ह्विल लक लगाउने प्रक्रिया र त्यसपछि विकास भएका घटनाक्रमबारे समितिले विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मुगुको सोरु गाउँपालिका–६ स्थायी घर भएका नेपाली हाल भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए ।

