काठमाडौँ । मुलुकलाई वित्तीय अपराध अनुगमनकारी निकायको नकारात्मक सूची (ग्रे लिस्ट) बाट जोगाउन संसद्ले तीव्र गतिमा कानुनी परिमार्जन गरेको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि विधेयकमाथि सांसदहरूले उठाएका प्रश्न र संसद्मा आएका संशोधनका प्रस्तावहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख जोगाउन यो कदम अत्यावश्यक भएको प्रष्ट पार्नुभयो ।
उहाँले नेपाललाई ग्रे लिस्टको जोखिमबाट जतिसक्दो चाँडो बाहिर निकाल्न र वित्तीय पारदर्शिता कायम गर्नका लागि नै यस विधेयकलाई द्रुत प्रक्रियाबाट संशोधन गर्नुपरेको जानकारी गराउनुभयो ।

