काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ ।
संसद सचिवालयका अनुसार दिउँसो १:१५ बजे सुरु हुने उक्त बैठकमा बजेट आश्रित विधेयकहरू प्रस्तुत गर्ने र विनियोजन विधेयकमाथि छलफल गर्ने तयारी गरिएको छ ।
बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधि सभाबाट प्राप्त आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ सम्बन्धी सन्देशहरू सभासमक्ष टेबुल गर्नुहुनेछ । यसैगरी आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची तय भएको छ ।
सचिवालयका अनुसार आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । साथै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालयका लागि विनियोजित बजेट शीर्षकहरूमाथि पनि आजै सदनमा छलफल गरिनेछ ।

