काठमाडौँ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बजारबाट पैसा उठाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले ९१ दिने अवधिको ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो उपकरणका लागि इच्छुक वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन् र आजै यसको निष्काशन गरिनेछ ।
यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउने व्यवस्था छ । लगानीकर्ताले न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरेर ५ करोडले भाग जाने अंकमा कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन पेस गर्न सक्नेछन् । यो निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै तय हुनेछ भने संस्थाहरूले बहुब्याजदरमा समेत आवेदन दिन पाउने सुविधा रहेको छ । ब्याजदर प्रस्ताव गर्दा दशमलव पछाडिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ ।
यो निक्षेप संकलन उपकरणको अवधि आगामी असोज २३ गतेसम्म कायम रहनेछ र सोही दिन साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । बोलपत्रहरू स्वीकृत गर्दा सबैभन्दा न्यून ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । यदि दुई वा सोभन्दा बढी संस्थाको ब्याजदर समान भएमा प्रोराटा (आनुपातिक) आधारमा रकम बाँडफाँड गरिनेछ ।
खुला बजार सञ्चालन समितिलाई प्राप्त बोलपत्रहरू आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार रहनेछ । स्वीकृत भएको बोलकबोल रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकको छुट्टै खातामा जम्मा गरिनेछ । बोलकबोल स्वीकृत भएपछि खातामा पर्याप्त रकम नभएमा सम्बन्धित वित्तीय संस्थालाई कालोसूचीमा राख्ने चेतावनी समेत केन्द्रीय बैंकले दिएको छ ।
यो उपकरणमा जम्मा गरिएको रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोको रूपमा रहनेछ, जसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । यद्यपि, यसलाई वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिने सुविधा छ । राष्ट्र बैंकले भुक्तानीको तोकिएको मितिभन्दा अगाडि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने स्पष्ट पारेको छ ।

