काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहत रहेको राहदानी विभागले आफ्ना सेवाग्राहीको सम्पूर्ण विवरणलाई नयाँ प्रविधिमा सार्ने काम पूरा गरेको छ ।
विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी पुराना विवरणहरूलाई नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको हो । नेपालको इतिहासमै यति ठूलो परिमाणमा तथ्याङ्क स्थानान्तरण (डेटा माइग्रेसन) गरिएको यो पहिलो पटक हो । सोमबारदेखि यही नयाँ प्रणालीमार्फत विभागले आफ्ना नियमित सेवाहरू सुरु गरेको छ ।
प्रणाली परिवर्तनको यो प्रारम्भिक चरणमा प्राविधिक जटिलता आउन सक्ने विभागले जनाएको छ । नयाँ सफ्टवेयर कार्यान्वयन गर्दा सुरुका केही दिन प्रणाली सुस्त चल्ने र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने भएकाले प्राविधिक टोलीहरू निरन्तर सुधारमा लागिपरेका छन् । प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ र विभागका कर्मचारीहरू चौबीसै घण्टा अनुगमन र परीक्षणमा खटिएका छन् ।
यस प्राविधिक सुधारको अवधिमा प्रणालीमा आउने चापलाई व्यवस्थापन गर्न विभागले सेवाग्राहीसँग सहयोगको अपिल गरेको छ । राहदानी निकै आवश्यक परेका व्यक्तिहरूले मात्र सुरुवाती चरणमा आवेदन दिँदा सेवालाई व्यवस्थित बनाउन सहज हुने विभागको भनाइ छ ।
साथै, राहदानी सेवासम्बन्धी कुनै पनि जानकारीका लागि विभाग र परराष्ट्र मन्त्रालयको आधिकारिक माध्यमबाट आउने सूचनालाई मात्र विश्वास गर्न आग्रह गरिएको छ ।

