काठमाडौँ । वर्तमान सरकारले आम नागरिक र उद्योगी व्यवसायीमा भरोसा जगाउन नसकेका कारण देशमा नैराश्यता छाएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष घिसिङले यही निराशाका कारण व्यापारी र युवाहरूले आत्मदाह गर्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसमा सरकार केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरे । दुई तिहाइ नजिकको बहुमत पाएको सरकारले जनताको आशालाई निराशामा बदलिरहे देश पुनः द्वन्द्वतर्फ धकेलिने खतरा उनले औँल्याए । उज्यालो नेपाल पार्टीले वर्तमान सरकार पाँच वर्ष टिकोस् भन्ने चाहे पनि अहिलेसम्मको कार्यशैलीले त्यस्तो सङ्केत नदेखाएको उनको तर्क थियो । आफ्नो पार्टी कुनै क्षणिक स्टन्ट वा सोचका भरमा नभई देशका हरेक चुनौती सामना गर्ने गरी अघि बढेको उनले दाबी गरे ।
विगतमा अन्य दलसँग एकीकरण गर्नु गल्ती भएको स्वीकार गर्दै अध्यक्ष घिसिङले अब कुनै पनि हालतमा उज्यालो नेपालको अस्तित्व मेटिने गरी एकता नगर्ने स्पष्ट पारे । वर्षायाम सकिएपछि पार्टीले देशव्यापी रूपमा तीन महिनाको विशेष कार्यक्रम घोषणा गर्ने र हरेक गाउँपालिकामा पुगेर जनताका समस्या बुझ्ने योजना उनले सार्वजनिक गरे । आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा उज्यालो नेपाल पार्टीले नै जित हासिल गर्ने दाबी समेत उनले गरे ।

