काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाताहरूलाई थप सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ ‘ट्याक्स पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा महानिर्देशक डा. भीष्मकुमार भूसालले नयाँ प्रणालीको शुभारम्भ गर्नुभयो । सुरुआती चरणमा करदातालाई अभ्यस्त बनाउन र प्राविधिक समस्या व्यवस्थापन गर्न एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली एकैसाथ सञ्चालन गरिने विभागले जनाएको छ ।
अहिले दुवै प्रणालीको बाह्य स्वरूप उस्तै राखिए पनि एक महिनापछि पुरानो भर्सन पूर्ण रूपमा बन्द गरी नयाँ इन्टरफेस लागू गरिनेछ । नयाँ प्रणाली सबै प्रकारका ब्राउजरमा सहजै चल्नेछ भने बारम्बार लगइन र लगआउट गर्नुपर्ने झन्झट अन्त्य गरिएको छ । यसमा अन्तःशुल्क विवरण करदाता आफैँले रुजु गर्न सक्ने, डि-फोर फारमको अनुसूची १० मा सम्बन्धित विवरण स्वतः भरिने तथा विदेशी लगानीकर्ताले प्यान दर्ताका लागि निवेदन दिन सक्ने व्यवस्था छ ।
त्यस्तै, ई-टीडीएस विवरण कानुनबमोजिम अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्ने व्यवस्थालाई प्रणालीमै अनिवार्य गरिएको छ । यसबाट रकम होल्ड गर्ने प्रवृत्ति र विवरण मिसम्याच हुने समस्या हट्ने अपेक्षा छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा त्रुटि भएमा सात दिनभित्र करदाता स्वयंले सच्याउन सक्ने सुविधा दिइएको छ भने प्यान, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र आफैँ डाउनलोड गर्न सकिनेछ ।

